समाचार: नवलपरासी–२ मा भरत थापा आधिकारिक उम्मेदवार, कँडेलको उम्मेदवारी रद्द

नवलपरासी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको उम्मेदवारी विवाद अन्ततः सुल्झिएको छ। निर्वाचन अधिकृतको कार्यालयले पहिले उम्मेदवारी दर्ता गराएका भीमबहादुर थापा (भरत) लाई आधिकारिकता दिएसँगै देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको हो।
दुवै नेताले कांग्रेसको आधिकारिक टिकट दाबी गर्दै मनोनयन दर्ता गराएका थिए। तर, निर्वाचन आयोगको नियमअनुसार पहिले दर्ता गर्नेलाई प्राथमिकता दिँदा थापाको उम्मेदवारी कायम भएको हो। पूर्व गृहराज्यमन्त्री कँडेल सातौँ पटक चुनावी मैदानमा उत्रने तयारीमा थिए, तर प्राविधिक कारणले यसपटक उनी रिङ बाहिर परेका छन्। थापा भने सुनवल नगरपालिकाका पूर्व मेयर हुन्।