समयको सम्मान र क्षमायाचना: गुल्मीमा सागर ढकाल र गोविन्द पन्थीको 'उठबस'

गुल्मी: राजनीतिक संस्कारमा समयको महत्त्व कति हुन्छ भन्ने उदाहरण जेन्जी (Gen-Z) पुस्ताका उम्मेदवारहरूले प्रस्तुत गरेका छन्। गुल्मी क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार सागर ढकाल र क्षेत्र नम्बर २ का उम्मेदवार गोविन्द पन्थीले कार्यक्रम स्थलमा ढिला पुगेपछि अनौठो शैलीमा माफी मागेका छन्।
निर्धारित समयभन्दा ढिला उपस्थित भएका उम्मेदवारद्वयले जनताको समय खेर फालेको भन्दै सार्वजनिक रूपमै उठबस गरेर क्षमायाचना गरे। आफ्नो गल्ती स्वीकार्दै उनीहरूले राजनीतिमा नयाँ र पारदर्शी संस्कारको सुरुवात गर्न खोजेको बताए। चुनावी अभियानलाई सादगी र अनुशासित बनाउने उनीहरूको यो कदमले सामाजिक सञ्जालमा चर्चा पाएको छ।