
ललितपुर । अविरल वर्षासँगै आएको पहिरोका कारण एक सातादेखि अवरुद्ध कान्ति लोकपथ मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
ललितपुरतर्फका विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि मंगलबार बिहान पौने ११ बजेदेखि कान्ति लोकपथमा यातायात सञ्चालनमा आएको हो।
ललितपुरको बागमती गाउँपालिका–३ अन्तर्गत टार्कुचे, देवीसाँध र छवेली क्षेत्रमा पहिरो खसेपछि गत असोज ७ गतेदेखि हेटौंडा–काठमाडौं जोड्ने यो छोटो दूरीको महत्वपूर्ण सडक अवरुद्ध भएको थियो।
कान्ति लोकपथ सडक आयोजना, ललितपुरका सूचना अधिकारी तथा इन्जिनियर उपेन्द्र महताराका अनुसार वर्षा रोकिएपछि सोमबार बिहानदेखि पाँच वटा एस्काभेटर परिचालन गरी पहिरो हटाउने काम तीव्र पारिएको थियो। पहिरो हटाएपछि मंगलबार बिहानदेखि सडकमा सवारी आवागमन सहज बनाइएको हो।
मकवानपुरतर्फका विभिन्न स्थानमा खसेका पहिरो तथा सडक अवरोध भने यसअघि नै हटाइसकिएको थियो। ललितपुरतर्फका प्रमुख अवरोध हटाउन बाँकी रहेकाले काठमाडौं–हेटौंडा आवागमन प्रभावित हुँदै आएको थियो।
बाढीपहिरोका कारण पृथ्वी राजमार्गसहित काठमाडौं प्रवेश गर्ने अन्य प्रमुख सडकसमेत प्रभावित भएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको थियो। कान्ति लोकपथ सञ्चालनमा आएपछि हेटौंडा–काठमाडौं आवागमनमा केही सहजता आउने अपेक्षा गरिएको छ।
पानी पर्न रोकिएसँगै हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने कुलेखानी–सिस्नेरी तथा फाखेलतर्फका सडकसमेत सोमबारदेखि सञ्चालनमा आइसकेका छन्।
कान्ति लोकपथ हेटौंडा–काठमाडौं जोड्ने महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ। पछिल्लो समय पृथ्वी राजमार्गमा आएको अवरोधका कारण यसको रणनीतिक महत्व झन् बढेको छ
@ShineENews