
काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–७, तुप्चेका करिब २०० घरधुरीका परिवारको पीडामा साथ दिन लायन्स/लियो क्लब अफ काठमाडौं नमोबुद्ध राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको छ।
क्लबका अध्यक्ष लायन विश्व केसीको नेतृत्वमा Bike Riders, Bebo Vlogs, सुस्मिता अधिकारीसहितको टोलीले काठमाडौंँबाट दुई गाडी राहत सामग्री लिएर आज बिहान तुप्चेतर्फ प्रस्थान गरेको थियो। टोलीले बाढीपीडित परिवारका लागि खाद्यान्न, दैनिक उपभोग्य सामग्री, लत्ताकपडालगायत अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको हो।

बाढीका कारण घर, खाद्यान्न तथा दैनिक जीवनका आधारभूत आवश्यकतामा ठूलो क्षति पुगेका परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले क्लबको पहलमा सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पुर्याइएको हो।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ईबाट तुप्चेका बाढीपीडितका लागि राहत लिएर जाने पहिलो लायन्स क्लब आफूहरू रहेको क्लबका अध्यक्ष लायन विश्व केसीले बताए।
केसीका अनुसार अहिले पुर्याइएको राहतलाई सुरुवातका रूपमा लिँदै चाँडै नै पीडित परिवारलाई आवश्यक थप सहयोगसहित दोस्रो चरणको राहत अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ। प्रभावित परिवारको वास्तविक आवश्यकता बुझेर आवश्यक सामग्री संकलन तथा व्यवस्थापनको कामसमेत अघि बढाइएको उनले बताए।
“आज हामी राहत बोकेर पीडितको बीचमा पुगेका छौँ। तर हाम्रो अभियान यतिमै सकिँदैन। पीडित परिवारलाई अहिले के–के आवश्यक छ भन्ने पहिचान गरेर चाँडै नै थप राहत सहयोग लिएर फेरि तुप्चे पुग्ने तयारी गरिरहेका छौँ,” अध्यक्ष केसीले भने।

क्लबका संस्थापक सदस्य लायन दिपक कुमार तामाङ, एम.जे.एफ.ले विपद्को समयमा पीडितको साथमा उभिनु मानवीय दायित्व भएको बताए। उनका अनुसार लायन्स/लियो क्लब अफ काठमाडौं नमोबुद्धले विपद्का बेला मात्र नभई विपन्न तथा असहाय वर्गलाई सहयोग, बालबालिकालाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, रक्तदानलगायत सामाजिक तथा मानवीय सेवाका विभिन्न गतिविधि निरन्तर गर्दै आएको छ।
“विपद्मा परेका नागरिकलाई तत्काल सहयोग गर्नु हाम्रो जिम्मेवारी हो। अहिले पहिलो चरणको राहत लिएर तुप्चे आएका छौँ। पीडितको आवश्यकता अझै धेरै छ भन्ने हामीले बुझेका छौँ। त्यसैले चाँडै नै अर्को चरणको आवश्यक राहत सहयोग जुटाएर फेरि पीडित परिवारको बीचमा पुग्ने तयारी भइरहेको छ,” तामाङले बताए।
बाढीले पुर्याएको क्षतिका कारण कठिन अवस्थामा रहेका परिवारका लागि राहत सामग्री बोकेर तुप्चे पुगेको नमोबुद्ध लायन्सको टोलीले सेवा, सहकार्य र मानवताको बलियो सन्देश दिएको छ। तत्कालको राहतपछि पनि पीडितलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने तयारीले विपद्मा परेका परिवारलाई थप आशा र भरोसा दिएको छ।