
भट्टेडाँडा, ललितपुर — बागमती गाउँपालिका–३, भट्टेडाँडास्थित उर्बर साना किसान कृषि सहकारी संस्था लिमिटेडको ७औँ वार्षिक साधारणसभा तथा स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका उपाध्यक्ष दीपक घिमिरे 'समीर'ले उपलब्ध गराउनुभएको जानकारी अनुसार यो कार्यक्रम गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, विभिन्न वडाका अध्यक्षहरू, पालिकाभित्रका अन्य सहकारी संस्थाका प्रतिनिधिहरू तथा उल्लेख्य संख्यामा शेयर सदस्यहरूको सहभागिता रहेको थियो।
उपाध्यक्ष घिमिरेका अनुसार, कृषकहरूको आर्थिक तथा कृषि क्षेत्रको विकासमा सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। संस्थामार्फत पालिकाभित्रका किसानहरूलाई अनुदानमा २,५०० बोरा रासायनिक मल, स्वच्छ दुग्ध उत्पादनका लागि आवश्यक सामग्री, बीउ–बिजन तथा सहुलियतपूर्ण कर्जालगायतका सेवाहरू उपलब्ध गराइएको जानकारी उहाँले दिनुभयो।
सहकारीले आफ्नै जग्गा खरिद गरी भौतिक पूर्वाधार निर्माणको कार्यसमेत अघि बढाएको छ। संस्थाको कार्यालय भवन निर्माणका लागि बागमती प्रदेश सरकारबाट रु. २५ लाख बजेट विनियोजन भएको उपाध्यक्ष घिमिरेले बताउनुभयो।

कृषकको उत्पादन वृद्धि, आत्मनिर्भरता र आर्थिक समृद्धिका लागि सहकारीको भूमिकालाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा थप योजनाबद्ध रूपमा अघि बढ्ने संस्थाको प्रतिबद्धता छ। साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण अतिथि, सञ्चालक समिति, कर्मचारी र शेयर सदस्यहरूप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ।

@shinenews