ऊर्जामन्त्री कुलमान घिसिङद्वारा राजीनामा

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। २०८२ भदौ ३० गते नियुक्त हुनुभएका घिसिङले आज (पुस २३ गते) प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउनुभएको हो।
राजीनामा पत्रमा घिसिङले हालको 'राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै' पद त्याग गरेको उल्लेख गर्नुभएको छ। उहाँले ऊर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आउनुभएको थियो। जेन्-जी आन्दोलनपछि गठित सरकारमा काम गर्ने अवसर पाएकोमा उहाँले प्रधानमन्त्रीलाई धन्यवाद दिनुभएको छ।
आफ्नो कार्यकालमा वर्षौँदेखि अलपत्र परेका आयोजना अघि बढाउन र सुशासन कायम गर्न इमानदारीपूर्वक प्रयास गरेको घिसिङले दाबी गर्नुभएको छ। पछिल्लो समय उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको र प्रधानमन्त्रीले राजनीतिक दलमा आबद्ध मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएपछि यो कदम चालेको बुझिएको छ। उहाँले भविष्यमा पनि देश र जनताको हितमा सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ।
Shine news
Published on January 7, 2026