Updates

​विदेशी कलेजको बेथिति विरुद्ध अनेरास्ववियु आक्रामक, मन्त्रीलाई बुझायो १५ बुँदे माग

Shine news
149 views
​विदेशी कलेजको बेथिति विरुद्ध अनेरास्ववियु आक्रामक, मन्त्रीलाई बुझायो १५ बुँदे माग
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरूमा बढ्दै गएको शैक्षिक बेथिति र आर्थिक ठगी विरुद्ध कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ। संगठनका

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरूमा बढ्दै गएको शैक्षिक बेथिति र आर्थिक ठगी विरुद्ध कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ। संगठनका अध्यक्ष दीपक धामीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई १५ बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल ठोस कारबाहीको माग गरेको हो।

​ज्ञापन पत्र बुझाउँदै अध्यक्ष धामीले कतिपय विदेशी कलेजहरूले नेपालको कानुनको छिद्र प्रयोग गरी विद्यार्थीहरूको भविष्यमाथि गम्भीर खेलबाड गरिरहेको बताउनुभयो। विशेष गरी 'दि ब्रिटिस कलेज' लगायतका संस्थाहरूले मापदण्ड विपरीत स्नातक र स्नातकोत्तर तहको समयावधि हेरफेर गरेको, 'फाउन्डेसन कोर्स'का नाममा विद्यार्थीमाथि अतिरिक्त आर्थिक भार थपेको र महँगो शुल्क असुल गरी ठगी गरिरहेकाले त्यस्ता कलेजहरूको दर्ता तत्काल खारेज हुनुपर्ने अनेरास्ववियुको माग छ।

​अनेरास्ववियुले अघि सारेका प्रमुख मागहरूमा विदेशी शिक्षण संस्था नियमनका लागि स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने, अनुगमन र मापदण्ड निर्धारणको जिम्मा विश्वविद्यालय अनुदान आयोग (UGC) लाई दिइनुपर्ने, र कम्तीमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य निःशुल्क छात्रवृत्ति उपलब्ध गराई नामावली सार्वजनिक गर्नुपर्ने उल्लेख छ। साथै, सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्व वरीयतामा १००० भित्र हुनुपर्ने र नेपाली विश्वविद्यालयको मापदण्ड अनुसार नै शुल्क निर्धारण गरिनुपर्ने अडान संगठनले राखेको छ।

​अध्यक्ष धामीले विद्यार्थीहरूको शैक्षिक निरन्तरताका लागि वैकल्पिक व्यवस्था र ठगीमा परेकाहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। ज्ञापन पत्रमा भनिएको छ, "यी मागहरू यथाशीघ्र सम्बोधन नभए अनेरास्ववियु सशक्त र चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुनेछ।"

SN
Author:self

Shine news

Published on December 30, 2025

More from

Related Posts