विशेष महाधिवेशन सफल पार्न ललितपुर कांग्रेसको तयारी तीव्र; पुस २५ मा जिल्लास्तरीय भेला हुने

ललितपुर, २४ पुस । नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आगामी पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको 'ऐतिहासिक दोस्रो विशेष महाधिवेशन'लाई सफल पार्न व्यापक तयारी सुरु गरेको छ।
जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै महाधिवेशनको पूर्वसन्ध्यामा पुस २५ गते शुक्रबार ललितपुरको खुमलटारस्थित ट्रिनिटी होटलमा बिहान ११:३० बजे जिल्लास्तरीय भेला आह्वान गर्नुभएको छ। यो भेलाले महाधिवेशनमा जिल्लाको तर्फबाट हुने सहभागिता र तयारीलाई अन्तिम रूप दिनेछ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, पार्टीका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले माग गरेको विशेष महाधिवेशनको मागलाई नेतृत्वले सकारात्मक रूपमा लिँदै प्रक्रिया अघि बढाएकोमा जिल्ला कार्यसमितिले खुसी व्यक्त गरेको छ। विधि र पद्धतिको कार्यान्वयनका लागि महामन्त्रीद्वय र केन्द्रीय नेतृत्वले देखाएको तत्परताप्रति ललितपुर कांग्रेसले आभार प्रकट गरेको छ।
विशेष महाधिवेशनको उद्घाटनका दिन अर्थात् पुस २७ गते बिहान ११:०० बजे ललितपुरको कुपण्डोल (हनुमानस्थान) बाट बाजागाजा र झाँकीसहितको विशाल र्याली निकालिने कार्यक्रम छ। उक्त र्याली भृकुटीमण्डप पुगेर उद्घाटन सत्रमा सहभागी हुनेछ। सभापति श्रेष्ठले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई महाधिवेशनमा सक्रिय र अनिवार्य उपस्थितिका लागि अपिल गर्नुभएको छ।
Shine news
Published on January 8, 2026