
काठमाडौं । जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियन गेम्स २०२६ मा सहभागी हुने नेपाली उसु टोलीलाई नेपाल उसु महासंघले बिदाइ गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को मिनी कभर्ड हलमा आयोजित कार्यक्रममा महासंघले नेपाली टोलीका १० खेलाडी र २ प्रशिक्षकलाई Accreditation Card तथा ट्र्याकसुट वितरण गर्दै राष्ट्रका लागि उत्कृष्ट प्रदर्शन र सफलताको शुभकामना दिएको हो।
नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ, वरिष्ठ उपाध्यक्ष विक्रम सिटौला, महासचिव ल्हाक्पा छिरिङ लामा लगायत महासंघका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल उसुका प्रमुख प्रशिक्षक गणेशप्रसाद अर्याल, पुर्व राष्ट्रिय टिमका प्रशिक्षक पञ्चमान महर्जन, पुर्व राष्ट्रिय खेलाडि भुषण बज्रचार्य, राष्ट्रिय टिमका प्रशिक्षक चोक बाहादुर थापा (IWUF) निर्णायक मञ्जुर महर्जन, राजेन्द्र बूढाथोकी, महिला IWUF निर्णायक जुनी राई लगायत प्रशिक्षक तथा खेलाडीहरूको सहभागिता रहेको थियो।

नेपालबाट एसियन गेम्समा ७ पुरुष र ३ महिला गरी १० खेलाडी सहभागी हुँदैछन्। उनीहरूले थाउलो र सान्सौं विधामा प्रतिस्पर्धा गर्नेछन्।
थाउलोमा विजय सिन्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, सुस्मिता तामाङ, दीपक हमाल र सविता राई सहभागी हुनेछन्। त्यस्तै, सान्सौंतर्फ रोहित चुनारा, अमर सुनार, सञ्जिव महर्जन र रिता ठकुल्ला ले नेपालको प्रतिनिधित्व गर्नेछन्।

थाउलोका प्रशिक्षकमा प्रकाश महर्जन तथा सान्सौंका प्रशिक्षकमा तुल्सीनन्द वज्राचार्य रहेका छन्।
महासंघले पछिल्लो समय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा बढीभन्दा बढी सहभागी गराउँदै आएको छ। साथै, खेलाडीहरूको क्षमता विकासका लागि वैदेशिक प्रशिक्षणमा समेत पठाउँदै आएको महासंघले जनाएको छ। यसैक्रममा राष्ट्रिय खेलाडी सुस्मिता तामाङले हालै करिब तीन महिनाको वैदेशिक प्रशिक्षण पूरा गरी नेपाल फर्किएकी छन्।

एसियन गेम्समा नेपाली खेलाडीहरूले राष्ट्रका लागि पदक जित्नेमा महासंघ पूर्ण विश्वासका साथ अघि बढेको जनाएको छ। खेलाडीहरूको तयारी र अन्तर्राष्ट्रिय अनुभवका आधारमा यसपटक उसुबाट उत्कृष्ट नतिजाको अपेक्षा गरिएको छ।
महासंघले पदक जित्ने खेलाडीलाई भव्य कार्यक्रम आयोजना गरी नगद पुरस्कारसहित उचित सम्मान गर्ने समेत जनाएको छ।

बिदाइ कार्यक्रममा खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रँदै नेपालको गौरव बढाउन शुभकामना दिइएको थियो। नेपाली उसु टोली अब एसियन गेम्समा पदक जित्ने लक्ष्यसहित जापान प्रस्थान गर्ने तयारीमा रहेको छ।